पाल्पा ।
पाँच दिनसम्म पाल्पाको सत्यवती तालमा लागेको चिच्चाएर वर माग्ने मेला शनिबारदेखि सकिएको छ । कार्तिक २७ गतेदेखि सुरु भएको मेला ३ लाख बढी श्रद्धालु ताल र मन्दिर दर्शन गर्न पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
दिउँसोमा भन्दा रातमा सत्यवती ताल र मन्दिर दर्शन गर्न जानेको भीड लागेको समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । बेलुकीपख तालमा जाने र मध्यरातमा चिच्चाएर वर माग्ने प्रचलन छ । त्यसैले दिउँसोमा भन्दा बेलुकीपख उकालो लागेको देखिएको झुम्साका टंक बस्यालले बताए । शुक्रबार रातभर भीड लागेको र शनिबार पनि केही श्रद्धालु मन्दिर पुगेका थिए ।
रातको १२ बजे चिच्चाएर वर माग्ने प्रचलन भएकाले सवारी साधन व्यवस्थापन गर्न नसक्दा भने श्रद्धालुले सास्ती खेप्नु परेको थियो । सिद्धार्थ राजमार्गको चौबिस माइल, गिट्टीखानी, झुम्सा पानीमिल र झुम्सा ज्यामिरेबाट जाने र आउनेको लस्कर लागेको स्थानीयले बताए ।
अधिकांस तराईका बासिन्दा रातभर हिडेर ताल पुग्ने गर्छन् । सयौंको संख्यामा लाइन लागेर चिच्चाउँदै मेला भर्न राजमार्गदेखि दुई घण्टा ठाडै उकालो जानुपर्छ । मन्दिर व्यवस्थापन समितिको कमजोरीले चारदेखि पाँच घण्टा जाममा पर्नु परेको तानसेन २ का हिमालदत्त श्रेष्ठले बताए । कोलडाँडाको सत्यवती मन्दिर र ताल परिसरमा परम्परागत रुपमा मेला लाग्ने गर्छ । यहाँ भाकल अनुसार पुजा गर्ने, वली चढाउने र परेवा उडाउने गर्छन् ।
पूर्णिमा कार्तिकमै परेकाले ‘जोग परेको’ भनिन्छ । मेलामा सत्यवती देवीको मन्दिरमा पूजा र दर्शन गर्ने गरिन्छ । नजिकै रहेको सत्यवती तालमा पाती, बाँसको लिंगो गाडेर पूजा गर्ने चलन छ । यहाँ भाकल अनुसार पूजा, बोका, हाँस, कुखुराको भाले बली चढाउने, परेवा उडाउने गरिन्छ ।
जंगलको बीचमा रहेको तालमा मेला लाग्छ । अघिल्लो वर्षमा भन्दा यसवर्ष धेरै श्रद्धालुले सत्यवती मेलाको अवलोकन गरेका छन् । तालमा पुग्नेले मध्यरातमा चिच्चाउदै ‘सत्यवती बज्यै मेरो छोरा पल्टनमा भर्ती होस्, धेरै धन कमाउन पाम, मेरो छोराछोरीलाई रोग व्याधी नलागोस्, मेरो छोराको बोली फुटेन, बोल्ने बनाईदेउ, मैले फल्नोलाई पाम, सत्यवती वज्यै मलाई कहिल्यै सौता नआओस्,’ जस्ता शव्द उच्चारण गरेको सुनिएको थियो ।
पछिल्लो समय भने धार्मिक आस्थाको मन्दिर व्यापार गर्ने थलो बनेको सहभागीले गुनासो गरेसत्यवतीमाई कानले नसुन्ने भन्ने जनविश्वास रहेको हुँदा त्यहाँ गई बेस्सरी चिच्चाएर बर माग्नुपर्ने किंवदन्ती छ ।








