गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगालाई समृद्ध बनाउन वनको लगानी र क्रियाशिलता महत्वपूर्ण : नगरप्रमुख अर्याल

बाणगंगालाई समृद्ध बनाउन वनको लगानी र क्रियाशिलता महत्वपूर्ण : नगरप्रमुख अर्याल

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगालाई समृद्ध बनाउन वनहरुको लगानी र क्रियाशिलताले महत्वपूर्ण भएको बताएका छन् । त्यसको पछिल्लो उदाहरण श्रृङ्गीघाट सामुदायिक वनले कामबाट प्रस्तुत गरेको उनले बताए ।

सोमबार श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १२औं बार्षिक साधारण सभा तथा ५ औं अधिवेशनलाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले यस्तो बताएका हुन् । उक्त कार्यक्रम बाणगंगा नगरपालिका ४ दरखास्तमा रहेको श्रीपेच होटलमा भएको थियो ।

उनले बाणगंगाभित्र झन्डै ३ दर्जन सामुदायिक वन र ३ वटा धार्मिक वनहरु रहेको बताउँदै बाणगंगासंगै कपिलवस्तुमै यस वन उत्कृष्ट साबित भएको बताए । उनले यस वनले वन सरक्षणसंगै पछिल्लो समय सामाजिक क्षेत्रमा नमुना काम गरेको भन्दै खुशी व्यक्त गरे । ‘विगतमा ऐन कानुनमा नै स्थानीय तहसंग समन्वय नगरि पनि काम गर्न सक्ने प्रावधान थियो । तर अहिले जारी वन ऐनहरुले स्थानीय तहसंग समन्वय गरि अघि बढ्ने गरि व्यवस्था गरेको छ,’ उनले भने ।
उनले सामुदायिक वनहरुको नियमन गर्ने अधिकार डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालयसंगै स्थानीय तहलाई पनि प्राप्त भएकाले नगरपालिका वनसंग सहकार्य गरेर अघि तयार रहेको बताए । उनले वनसम्बन्धि जारी ऐन नियमहरुमा समावेश प्रावधानहरुको सबैले अध्ययन गर्नुपर्ने बताए । उनले वनमार्फत हुने आम्दानीबाट हुने विकास निर्माणलाई गुणस्तर बनाउन आग्रह गरे ।

वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी(सुसिल) ले उक्त कार्यक्रममा आर्थिक बर्ष २०८१/०८२ को लागि ८ करोड ७४ लाख ९१ हजार ६०३ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

जहाँ प्रशासनिक खर्चतर्फ ८ प्रतिशत, वन विकास, संरक्षण र व्यवस्थापनमा ५५ प्रतिशत, सामुदायिक विकासतर्फ २१ प्रतिशत र सामाजिक भौतिक पूर्वाधार विकासतर्फ १६ प्रतिशत गरि बजेट खर्च विवरण प्रस्तुत गरिएको छ । उनले आफुले कामको दौरानमा सबैको सकारात्मक साथ र सहयोग प्राप्त गरेको बताए ।

कार्यक्रममा वनकी सचिव कमला सेन (सुष्मा खाँण) ले आर्थिक बर्ष २०८०/८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

उनले वनको समग्र परिचयदेखि संचालनमा आएका कार्यक्रमहरु, वनका उद्देश्य, कार्यसमितिका निर्णय, वनका चुनौति आदिको बारेमा प्रकाश पारिन् । वनका कोषाध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक कृष्ण प्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।

वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुसिल) को अध्यक्षता र सचिव कमला सेन (सुष्मा खाँण) को संचालनमा सम्पन्न उक्त कार्यक्रममा वनका उपाध्यक्ष बुद्ध बहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले श्रृङ्गीघाट सामुदायिक वन कपिलवस्तु जिल्लामै पारदर्शीता कायम गर्दै उत्कृष्ट काम गर्ने वनका रुपमा स्थापित भएको भन्दै प्रसंशा गरेका थिए । उनीहरुले उपभोक्ताहरुको हक हितका लागी वनले अझै राम्रो काम गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच यो समाचार तयार पार्दासम्म वनको ५ औं अधिवेशनको तयारीका प्रक्रिया अघि बढेको छ ।

सम्बन्धित् समाचार