पाल्पा ।
पाल्पाको सत्यवती तालमा लागेको पाँच दिने मेलाबाट ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ भेटी संकलन भएको छ ।
मेलामा श्रद्धालु भक्तजनले मन्दिर निर्माणका लागि संकलित ३२ लाख ८१ हजारमध्ये ९ लाख ७६ हजार २१९ रुपैयाँ नगदी रसिदबाट दान सहयोग गरेका छन् ।
मेला अवधिमै झण्डै २० लाख बराबर सुनसमेत दान गरेको भेटिएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । मेला सकिएपछि आइतबार र सोमबार तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको सहभागितामा भेटी गनिएको हो ।
मन्दिरको वरपर ६/७ स्थानमा राखिएका दानपात्रमा संकलन भएको रकम जम्मा गरेर गणना गरेको समितिले जनाएको छ । च्यातिएका, पोलिएका र सिक्का गणना गर्न अझ बाँकी छ । सत्यवती तालमा लागेको मेलामा झण्डै ३ लाख बढी श्रद्धालुको सहभागिता थियो । गतवर्ष १८ लाख ५० हजार भेटि संकलन भएको थियो ।
श्रद्धालुले चढाएको रकम संकलन साथै अधिकांश श्रद्धालुले दानपात्रमा राखेपनि कतिपयले बाहिर फालेको भेटिएको थियो । तालको वरपर सबै स्थानमा पैसा भेटिएको छ । पाँच, दश, बीस, पचास, सय, पाँच सय, हजारका नोट भेटिएका छन् । गाउँकार्यपालिकाले भेटी गणनाका लागि कर्मचारी खटाएकाले दुई दिनमा गनेर सकिएको छ ।








