दाङको घोराही उपमहानगरपालिका–५, धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।
बाँके बैजापुरका सुरेश चौधरी साथीहरूसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न आएको भेटिए । उनले कक्षा १० मा अध्ययन गरिरहेका छन् । धारापानीको चर्चा धेरै सुनेकाले आफैँले देख्न मन लागेर आएको उनले बताए । यहाँको मनोरम दृश्यले रमाइलो लागेको उनले बताए ।
‘त्रिशूल र ॐपोखरी मन्दिरभित्र रहेको पार्कमा बिसाउँदा आनन्द आयो, फोटो पनि खिचेका छौँ, गाउँमा सबैलाई देखाउँछौँ र घुम्न जानु भन्छौँ’, उनले भने । धारापानीको जलाशयमा डुङ्गामा सयर गर्दा झन् धेरै रमाइलो लागेको उनले बताए । बर्दिया नगरपालिका–३ राजापुरका सबिना केसी शनिबारको दिन साथीहरूसँग वनभोजका लागि धारापानी पुगेकी थिइन् । धारापानीको पर्यटकीय स्थलको कुरा मात्रै सुनेको अवलोकन गर्ने मौका नमिलेका कारण यस पटक धारापानीलाई गन्तव्य बनाएको उनले बताइन् । उनका अनुसार अरुले भनेको सुनेको र आफूले देखेकोमा फरक हुँदोरैछ । पर्यटकीय स्थलका रूपमा विकास भएको यो मन्दिर धेरै विकास भएको उनले बताइन् । पछिल्लो समय पार्कसहितको पोखरीले झनै राम्रो भएको उनले बताइन् ।
घोराही बजारदेखि नौ किलोमिटर दक्षिण भागमा पर्ने धारापानी मन्दिर निजी सवारी साधन वा बस-अटोरिक्साबाट सजिलै पुग्न सकिने र सो स्थानसम्म सडक पक्की भएकाले स्थानीय तथा बाह्य पर्यटकहरूको उपस्थितिले चहलपहल भएको हो । धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको त्रिशूल निर्माण भएपछि धेरै जिल्लाका पर्यटकहरूको गन्तव्य बनेको हो ।
पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउने तथा मंसिर महिना सुरु भएदेखि वनभोज खान आउने नागरिकको संख्या धेरै रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । अघिल्लो शनिबार २२ समूह वनभोजका लागि आएको उनले बताए । दाङलगायत छिमेकी जिल्ला रुकुम, रोल्पा, सल्यान, प्यूठानसँगै, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, पाल्पा, सुर्खेत, जुम्ला, जाजरकोटलगायत अन्य जिल्लाबाट पर्यटक आउने गरेको उनले बताए ।








