लुम्बिनी प्रदेशमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्वका कारण मानवीयदेखि बालीनालीमा समेत ठूलो क्षति भएको छ । प्रदेश सरकारको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार यसबाट करोडौँको क्षति भएको छ । पहाडी जिल्लामा बाँदरबाट अन्नबाली जोगाउन किसानलाई हम्मेहम्मे परेको छ । बर्दिया र बाँकेमा गाईभैँसी तथा भेडाबाख्राको क्षति धेरै भएको छ ।
वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सहायक वन अधिकृत केशव खड्काका अनुसार मानव–वन्यजन्तु द्वन्द्वबाट पाँचजना मानिसको ज्यान गएको छ । आठजना घाइते भएका छन् । बर्दियामा पाँचजनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये चार महिला र एक बालक छन् । नवलपरासी पश्चिममा तीन, बर्दियामा तीन, दाङ र गुल्मीमा एक–एकजना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशमा गाईभैँसीदेखि भेडाबाख्रासम्मको क्षति धेरै भएको छ । तीन हजार ५० माछा, १८१ हाँसकुखुरा, २१७ भेडाबाख्रा, ३१ गाईभैँसी तथा ४५ वटा बंगुर मरेका छन् । प्रदेशमा तीन हजार ५७४ पशु मरेको खड्काले बताए । सबैभन्दा धेरै बाँकेमा दुई हजार २१३, बर्दियामा एक हजार २८८, गुल्मीमा १२२ र अर्घाखाँचीमा ५१ पशु मरेको प्रदेश सरकारले जनाएको छ ।
मानव र घरपालुवा जनावर मात्रै होइन, वन्यजन्तुतर्फ पनि धेरै क्षति पुगेको छ । चितुवा, स्याल, वनबिरालो, नीलगाई, अजिंगर, बँदेल र बाँदरको ज्यान गएको छ । दाङमा २१, कपिलवस्तुमा ६, अर्घाखाँचीमा पाँच, बर्दिया र प्युठानमा चार–चार तथा गुल्मीमा एक गरी ४१ वन्यजन्तुको ज्यान गएको छ ।
पछिल्ला वर्षमा वन्यजन्तुबाट बालीनाली जोगाउनसमेत किसानलाई गाह्रो हुने गरेको छ । प्रदेश सरकारको तथ्यांकअनुसार एक हजार १३८ स्थानमा बालीनालीमा क्षति भएको छ । सबैभन्दा धेरै अर्घाखाँचीमा ५५७, पाल्पामा ४००, बर्दियामा १२६, गुल्मीमा ४३, प्युठानमा ११ र देउखुरीमा एक हजार १३८ को संख्यामा बालीनालीमा क्षति भएको छ ।








