लुम्बिनी ।
लुम्बिनी गुरुयोजनाविपरीत निर्माण गरिएको ५ हजार जना क्षमताको अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालन गर्न धौधौ हुन थालेको छ । लुम्बिनीमा आयोजना गरिने सम्मेलन र ध्यान लक्षित गरेर बनाइएको हल निर्माण पूरा भएको साढे दुई वर्ष भइसकेको छ ।
२५६० औं बुद्ध जयन्तीका बेला लुम्बिनीमा आयोजित कार्यक्रमस्थलको टेन्ट हावाहुरीले उडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७३ सालमा सभाहल केन्द्र निर्माण गर्ने घोषणा गरेका थिए । लगत्तै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७५ मा हलको शिलान्यास गरेकी थिइन् । गुरुयोजनाले निर्माणमा रोक लगाएको क्षेत्रमा सम्मेलन सभाहल निर्माण गर्न लागिएको भन्दै त्यति बेला विरोध भएको थियो । विरोधका बाबजुद सरकारले हल निर्माणमा लगानी गरेको थियो ।
सभाहल निर्माण पूरा भए पनि त्यसमा कार्यक्रम आयोजना नहुँदा आम्दानी शून्य छ । जसले गर्दा सभाहलको सरसफाइ खर्च उठाउनसमेत समस्या भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । ०७९ जेठ २ मा बुद्ध जयन्तीको अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हलको उद्घाटन गरेका थिए । दुई चरणमा गरेर ७० करोड रुपैयाँ लागतमा सभाहल निर्माण भएको हो ।
अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न सभाहल निर्माण भएपछि लुम्बिनीका आन्तरिक र बाह्य कार्यक्रम बढ्ने विश्वास गरिएको थियो । तर अहिले सभाहल प्रयोगविहीन छ । सभाहलमा अहिलेसम्म ११ वटा मात्र कार्यक्रम भएका छन्, जसबाट २७ लाख ३० हजार रुपैयाँ आम्दानी भएको कोषले बताएको छ ।
०७९/८० मा हलमा सात वटा कार्यक्रम आयोजनाबापत १३ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो ।








