गृहपृष्ठ Featured लुम्बिनीका कारागार तथा थुनुवा कक्षको अनुगमन

लुम्बिनीका कारागार तथा थुनुवा कक्षको अनुगमन

प्रकाशित मिति:

रुपन्देही ।

लुम्बिनी प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु भएको छ । लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय राप्ती उपत्यका देउखुरीले अनुगमन सुरु गरेको हो ।

मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले पहिलो चरणमा दाङ, अर्घाखाँची, गुल्मी, पाल्पागरी चार जिल्लामा रहेका जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको अनुगमन गर्दै कारागार प्रशासन, सुरक्षाकर्मी र हिरासत तथा थुनुवामा रहेका व्यक्तिहरूसँग छलफल गरेको छ ।

अनुगमन टोलीले कारागार तथा हिरासत कक्षलाई थप सुधार गर्दै मानव अधिकार संरक्षणमा ध्यान दिन कारागार प्रशासनलाई निर्देशन दिएको छ । साथै अनुशासन तथा सकारात्मक आचरणका लागि कैदीबन्दीलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ मा प्रदेशभित्रका हिरासत तथा थुनुवा कक्षको अनुगमन र निरीक्षण गरी थुनुवाहरू उपर मानवोचित व्यवहार नभएको भए मानवोचित व्यवहार गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रावधान रहेको छ । सोही ऐनले तोकेको जिम्मेवारी अनुसार कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमन गरिएको हो ।

भौतिक संरचना पुरानो, जीर्ण तथा क्षमता भन्दा बढी कैदी वन्दी बस्नुपर्दा समस्याहरू टिपोटमा आएको अनुगमन टोलीले जनाएको छ । गुल्मी जिल्लाको कारागार पुरानो छ । त्यहाँको संरचना फेर्नुपर्ने देखिएको अनुगमन टोलीका संयोजक मुख्यन्यायाधिवक्ता यमलाल खनालले बताए ।

सम्बन्धित् समाचार