सागर वि.क., वैखरी अनलाईन ।
१५ औं कपिलवस्तु महोत्सवमा १० करोड बढीको आर्थिक कारोबार हुने आँकलन गरिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव नवदत्त घिमिरेले २ लाख ५० हजार बढी दर्शक उतारेर १० करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको बताए ।
विगतका महोत्सवमा करिब २ लाख ५० हजार दर्शक आउने गरेको बताउँदै उनले भने, ‘यस क्षेत्रमा दर्शकको अभाव होला जस्तो लाग्दैन् । विगतका महोत्सवमा २ लाखदेखि ढाई लाखसम्म दर्शकको चाप हुने गरेको छ । यसपटक थप ४० हजार दर्शक बढ्ने अनुमान गरेका छौं ।’ स्टल निर्माणको काम तीब्र गतिमा भएको बताउँदै उनले ९० प्रतिशत स्टल बुकिङ्ग भईसकेको बताए ।
स्टेजको काम आधा सकिएको जानकारी दिदैं उनले महोत्सवको प्रवेशद्धार पशुपति मन्दिरको स्वरुपमा निर्माण गरिने बताए । यस जिल्लाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकिय, औधोगिक तथा व्यपारिक क्षेत्रको डकुमेन्ट्री निर्माण गरि महोत्सव अवधिभर प्रदर्शन गरिने बताए ।
उनले कपिलवस्तु महोत्सवलाई जिल्लाकै शानका रुपमा प्रस्तुत गर्ने गरि तयारी भईरहेको बताए । विगतका महोत्सवमा रहदैं आएका बालउद्यान, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, खानाका परिकार लगायतलाई निरन्तरता दिदैं केही नयाँपन दिने गरि काम भएको बताए ।
उनले महोत्सवमा शैक्षिक गतिविधि, खेलकुददेखि उत्कृष्ट कृषकलाई सम्मान समेत गरिने बताए । स्थानीय उत्पादनलाई प्रवर्धन गर्न केहीलाई निशुल्क स्टल उपलब्ध गराएको बताउँदै उनले भने, ‘यस क्षेत्रका व्यवसायीलाई विशेष छुटका साथ ठाउँ दिएका छौं ।’
उनले यस क्षेत्रका सरोकारवालाहरुसंग विभिन्न चरणमा महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउने रणनिति तय गर्न अन्तरक्रिया गरिरहेको बताए । उनले महोत्सवबाट यस क्षेत्रको आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे ।
उनले महोत्सव स्थलमा शान्ति सुरक्षा कायम गर्न र खानेपानीको राम्रो प्रबन्ध मिलाउने गरि काम भएको बताए ।
१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।








