गृहपृष्ठ Featured व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौं आम्दानी

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौं आम्दानी

जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौँदेखि सिँगडाखेती गर्दै आएका छन्।

‘अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको रु छ हजारका दरले बिक्री भइरहेको छ,’ उनले भने, ‘व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन।’

एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ। सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन्। माग बढी आएका बेलामा चार–पाँच जना ज्यालादारी मजदुर लगाएर सिँगडा टिपाउने गरेका किसान कश्यपले बताए।

कश्यपको आठ जनाको परिवारका सबै सदस्यले सिँगडाखेतीमा साथ दिँदै आएका छन्। बिहानदेखि साँझसम्म सिँगडा टिप्ने, जम्मा गर्ने र बिक्री गर्न भ्याइनभ्याई हुने गरेको छ। ‘यो हाम्रो पुख्यौली व्यवसाय हो, बाउबाजेका पालादेखि नै हामीले सिँगडाखेती गर्दै आएका छौँ, यसैको आम्दानीबाट घरपरिवार चल्दैै आएको छ,’ उनले भने ‘१५ कट्ठाभन्दा बढी तलाउको गाउँपालिकासँग वार्षिक २० हजार  तिर्ने गरी भाडामा लिएको छु।’

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले यामका बेलामा यसको माग बढी हुने गरेको छ। यामका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। असारमा तलाउमा सिँगडाको बीउ रोप्ने र कात्तिक–मंसिरमा त्यसबाट फल उत्पादन हुने किसान कश्यपले बताए।

सम्बन्धित् समाचार