गृहपृष्ठ Featured सीमा क्षेत्रको तस्करी र राजश्व चुहावट रोक्न मुख्यमन्त्रीको निर्देशन

सीमा क्षेत्रको तस्करी र राजश्व चुहावट रोक्न मुख्यमन्त्रीको निर्देशन

रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई प्राथमिकतामा राखेर प्रहरीले विशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताएका छन् । सीमा क्षेत्रबाट भइरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारीसमक्ष आग्रह गरे ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीसँगको भेटमा मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिए ।

‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रशस्त माल सामानहरू भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने,‘मूल नाकाको साथसाथै अन्य चोरी हुने नाकाहरूको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैध कारोबारहरूलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ ।’

लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेपछि प्रहरी नायब महानिरीक्षक कार्कीले मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गरेका छन् ।

‘भारतबाट दूधसमेत नेपालमा आइरहेको भन्ने सूचना छ । यसले गर्दा नेपाली किसानको दूध बिक्री भइरहेको छैन। कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेको छ’मुख्यमन्त्री आचार्यले भने, ‘यी विषयलाई विशेष ध्यान दिन जरुरी छ ।’

सम्बन्धित् समाचार