लुम्बिनी ।
लुम्बिनीको महिलवार–पडरिया सडकमा पर्ने श्रंकापुरस्थित तेलार खोलाको पक्की पुलको दक्षिणतर्फ मंगलबार दुई र उत्तरतर्फ दुईवटा अजिंगर देखिएका छन् । दुर्लभ जीव अजिंगर एकै ठाउँ चार वटा देख्दा स्थानीय अचम्ममा परे ।
तर, संरक्षणकर्मी यो खुसीको कुरा भएको बताउँछन् । अहिले अजिंगरको प्रजननको बेला भएकाले एकै ठाउँमा यसरी धेरै देखिनु राम्रै कुरा भएको कछुवा तथा सर्प विशेषज्ञ डा. करनबहादुर शाहले बताए । ‘त्यही भएर सर्पलाई बढी डिस्टर्ब गर्नु हुँदैन । डिसेम्बर/जनवरी महिनामा अजिंगरको प्रजनन हुन्छ । प्रजननका बेला धेरै संख्यामा एकै ठाउँमा देखिनु संरक्षणका क्षेत्रमा राम्रो कुरा हो,’ उनले भने ।
पुलको उत्तरतर्फ एउटा अजिंगर रुखमा झुण्डिएको थियो भने अर्को त्यही छेउको झारपातमाथि बसेको थियो । अरू दुई दक्षिणतिर पुलको तल प्वालमा बसेका थिए । चारवटै अजिंगर वयस्क र करिब ३ मिटर लामा थिए र झन्डै २०/२२ किलो तौलका थिए । यसले २० देखि ८० वटासम्म अण्डा पार्छ । अण्डालाई अन्य साना वन्यजन्तुले हानि नोक्सानी नगरे अधिकांश हुर्किन्छन् ।
यसले करिब दुईदेखि ३ महिनामा बच्चा कोरल्ने वाइल्डलाइफ फोटोग्राफर राज अधिकारीले बताए । नेपालमा इन्डियन रक पाइथन र बर्मिज पाइथन अजिंगर पाइन्छन् । यो बर्मिज पाइथन हो । अजिंगरको भालेभन्दा पोथी ठूलो हुन्छ । वन, घाँसे मैदान, दलदल र ताल पोखरी खोला छेउछाउमा पाइन्छन् । यिनीहरू उत्कृष्ट पौडीबाज पनि मानिन्छन् ।