सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले पारदर्शीता र सुशासनको क्षेत्रमा अब्बल तरिकाले काम गरेको बताएका छन् । बाणगंगावासीले हिनताबोध गर्नुपर्ने र शिर झुकाउनुपर्ने कुनै पनि काम नगरेको नगरप्रमुख अर्यालको भनाई छ ।
विहिबार नगरपालिकाको सभाहलमा भएको १६औं नगरसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले भने जति काम गर्न सकेनौ होला, तर पारदर्शीता र सुशासनको क्षेत्रमा अब्बल तरिकाले काम गरेका छौं । बाणगंगावासीले हिनताबोध गर्नुपर्ने र शिर झुकाउनुपर्ने कुनै कारण छैन् ।’
सो क्रममा नगरप्रमुख अर्यालले आर्थिक बर्ष २०८१/८२ मा स्वीकृत भई कार्यान्वयनमा रहेको नीति, कार्यक्रम र बजेटको हाल सम्मको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म कुल बजेट रु. १ अर्ब २२ करोड ९५ लाख २४ हजारको आम्दानीतर्फ ४८.५ प्रतिशत तथा खर्चतर्फ १७.५ प्रतिशत प्रगति भएको बताए । उनले नगरपालिकालाई आत्मनिर्भर बनाउन राजस्व सुधार योजना अनुरुप करका दर र दायरालाई समय सापेक्ष बनाई आत्मनिर्भरतर्फको यात्रालाई अगाडी बढाउने बताए ।
उनले नगरपालिका भित्र सञ्चालन हुने लघु उद्योग, मध्यम र ठूला उद्योगहरु स्थापना र विस्तारमा सहजीकरण गर्ने बताए । नगरपालिकाको ब्राण्ड कायम गर्न कृषिमा आधुनिकीकरण, सीप विकासमा विविधीकरण तथा सेवा प्रवाहमा प्रविधिकरण गर्दै लगिने योजना रहेको सुनाए । नगरका गौरवका आयोजनाहरु क्रमशः पुरा गरी नागरिकलाई सन्तुष्टी प्रदान गर्ने उनको भनाई छ ।
नगरप्रमुख अर्यालले स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याकन ‘लिजा’ मा प्रारम्भिक नतिजा अनुसार बाणगंगा नगरपालिकाले ९६.५ अंक प्राप्त गरी जिल्ला समन्वय समितिलाई पृष्ठपोषण तथा मूल्याङ्कनको लागि पठाईएको जानकारी दिए । उनले ९० प्रतिशत योजनाको बोलपत्र स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको बताए । उनले फोहोरमैला प्रशोधन केन्द्र स्थापनाका लागि आईईई रिपोर्ट अन्तिम चरणमा पुगेको बताए ।
सुशासनयुक्त पूर्वाधार निर्माणमा प्राथमिकता दिदै रणनीतिक योजनाहरु कार्यान्वयन गर्दै टुक्रे योजनाहरुलाई निरुत्साहित गर्दै जाने उनले बताए । विगत वर्षदेखि व्यवस्थापन हुँदै आएका छाडा चौपायाहरुलाई व्यवस्थित गर्न अस्थायी टहरामा रहेका गाईहरु मधुवनमा भागिरथी गौशालामा क्रमशः स्थानातरण गर्दै अन्तर पालिका समन्वयमा उक्त क्षेत्रलाई गौ संरक्षण तथा एनिमल रिसर्च सेन्टरमा रुपान्तरण गरी गौ महोत्सव र आन्तिरक आय वृद्धिमा प्रभावकारी कार्य सम्पादन गर्दै जाने उनको भनाई छ ।
बाणगंगामा कृषि तथा पशुपालक कृषकहरुको समूहमा उल्लेख्य वृद्धि भएको बताउँदै उनले भने, ‘विगतको भन्दा अहिले सडक संजाल, सिंचाई, पुल, विद्यालयका पूर्वाधार र शिक्षाको गुणस्तरियताको क्षेत्रमा सुधार भएको छ । हामी सबैले सहज रुपमा जनतालाई जवाफ दिनसक्नुपर्छ ।’ नगरप्रमुख अर्यालले बाणगंगामा हरेक बर्ष १ अर्व भन्दा बढी विकास खर्च भएको बताउँदै त्यसलाई जनताको समृद्धि र स्वरोजगारीसंग जोडिरहेको बताए ।
बाणगंगा नगरपालिका दुधमा आत्मनिर्भर बन्न लगेको बताउँदै उनले कृषिमा उत्पादन बढेको बताए । उनले बस पार्क निर्माणको लागि जग्गा प्राप्तिको तयारीमा रहेको बताए ।