गृहपृष्ठ Featured दुम्कीबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालनमा

दुम्कीबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालनमा

प्रकाशित मिति:

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको दुम्कीबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । विनयी त्रिवेणी गाउँपालिका दुम्कीबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको थियो ।

पुल पूर्ण रूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरुद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताए ।  रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाइएको उनले जानकारी दिए । पुल तत्काल मर्मत असम्भव भएको र डाइभर्सन निर्माणको काम नहुँदासम्मका लागि वैकल्पिक मार्गको प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।

रोकिएका सवारीलाई विनयी त्रिवेणी-२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गराइएको छ । दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक-डाँडाजोर-होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।

पुल नजिकै डाइभर्सन निर्माण गरी तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ । कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको  शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो । ट्रक पुलको बीच भागमा नै फसेको छ ।

सम्बन्धित् समाचार