गृहपृष्ठ Featured अर्घाखाँचीका सुन्तला बुटवल, चितवन, हेटौंडा र काठमाडौंसम्म !

अर्घाखाँचीका सुन्तला बुटवल, चितवन, हेटौंडा र काठमाडौंसम्म !

प्रकाशित मिति:

अर्घाखाँचीको पाणिनी गाउँपालिका सुन्तला खेतीका लागि देशमै प्रसिद्ध नाम हो। पुस, माघ र फागुन महिना यहाँका किसानलाई सुन्तला टिप्न भ्याइनभ्याई हुन्छ। सुन्तला टिप्ने, दाना छाँट्ने, क्यारेटमा राख्ने र गाडीसम्म पुर्‍याउने कामले उनीहरूलाई बोल्ने फुर्सदसम्म छैन।

पाणिनी गाउँपालिका वडा नम्बर–१ की शान्ता गौतमले सुन्तलाका तीन सय बोट हुर्काएकी छिन्। यो वर्ष राम्रो फलेकाले उनले आठ लाख रुपैयाँको सुन्तला बेचिन्। वडा नम्बर १ की वडासदस्य तथा कार्यपालिका सदस्यसमेत रहेकी गौतमलाई अहिले सुन्तलाले व्यस्त बनाएको छ। एक्लै सम्भव नभएपछि तीनजना खेताला खोजेर उनले काम गरिरहेकी छिन्।

‘पदमा बसेपछि कहिले कार्यपालिका बैठक हुन्छ। कहिले वडामा बैठक हुन्छ,’ उनले भनिन्, ‘यता घरमै सुन्तला टिप्न भ्याइनभ्याई छ, कता कता जानु?’ यहाँबाट लोड भएका सुन्तला बुटवल, चितवन, हेटौंडा र काठमाडौंसम्म पुग्छन्। कृषक खगेन्द्रप्रसाद पौडेलका अनुसार सुन्तला लिन घर आँगनमै गाडी आउँछ। बुटवल, चितवनका अलावा हेटौंडा र काठमाडौंसम्म सुन्तला पुग्ने गर्छ। माग धेरै नै भए पनि उत्पादन गर्न नसकिएको र बिचौलियाहरू हावी हुँदा कृषक ठगिएको उनको भनाइ छ। बिचौलियाको चंगुलबाट छुटाउन सके कृषकले अझ नाफा कमाउन सक्ने उनले बताए।

पाणिनीमा सबैभन्दा धेरै सुन्तला बेच्ने खगेन्द्रप्रसाद पौडेल, बालकृष्ण भट्टराई, रेवती पौडेल, चिरञ्जीवी पौडेल हुन्। उनीहरूले १८ देखि २५ लाख रूपैयाँसम्मको सुन्तला बेच्छन्। पाणिनी गाउँपालिका वडा नम्बर–१, सिम्ले, वडा नम्बर–२ पोखराथोक, वडा नम्बर–४ पटौटी र वडा नम्बर–५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ। पाणिनी गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ।

अर्घाखाँचीमा गत वर्ष २५ करोड रुपैयाँको सुन्तला उत्पादन भएको थियो। यसवर्ष भने अझै सुन्तला बिक्री हुन बाँकी रहेकाले सबै विवरण आउन नसकेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ। यद्यपि गत वर्षभन्दा केही बढी रकमको सुन्तला बिक्री हुने ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए।

बाध्यता र रहरले रोजगारीमा गएका युवाहरू पनि विदेशबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। वैदेशिक रोजगारीमा गएर पसिना बगाउनुभन्दा आफ्नै क्षेत्रमा परिश्रम गरेर आम्दानी गर्न सकिने यहाँका किसानहरूको धारणा छ।

सम्बन्धित् समाचार