रूपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षणका लागि व्यवसायीहरूको ईमानदारी र उपभोक्ताहरूको सचेतना आवश्यक रहेको बताएका छन्।
बुटवलमा आयोजित व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी सक्षमता अभिवृद्धि कार्यक्रममा उनले प्रदेश सरकारले उपभोक्ताको हित र अधिकार संरक्षण गर्न अनुगमनलाई तीव्रता दिने भन्दै प्रदेश स्तरीय अनुगमन संयन्त्र निर्माण गरिने जानकारी दिए।
मुख्यमन्त्री आचार्यले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पार्ने अखाद्य वस्तुको उत्पादन, बिक्री, र वितरणलाई रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको बताए। उनले भने, ‘म्याद गुज्रेका र अखाद्य वस्तु उत्पादन तथा वितरण गर्नेहरूलाई कानुनी कारबाही गरिनुपर्छ, र यो कार्य तीन तहका सरकारको संयुक्त प्रयासबाट मात्र सम्भव हुन्छ।’
उनले उपभोक्ता अधिकार सुनिश्चित गर्न सशक्त कानूनी संरचना निर्माण, सचेतना अभियान तीव्र बनाउने, गुणस्तरीय परीक्षण तथा नियमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।