कपिलवस्तुको कृष्णनगर नगरपालिकाको १३ औं नगर सभा तथा हिउँदो अधिवेशन सम्पन्न भएको छ ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख रजत प्रताप शाहले नगरको समृद्धिमा सबै जनप्रतिनिधि कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख शाहले नगरपालिकाले सुशासन, स्वस्थ, समृद्ध र खुशी जनताको लक्ष्यलाई प्राथमिकता दिएको बताउँदै नगरको योजनाहरूलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।
नगर प्रमुख शाहले जनप्रतिनिधि र कर्मचारीले परिणाम आउनेगरी काम गर्न आग्रह गर्नुभयो ।
नगर सभामा आर्थिक विधेयक, संशोधित योजना, संघसंस्था ऎन तथा लेखा समितिको प्रतिवेदन पेश गरिएको छ ।
नगर उपप्रमुखको उपस्थिति र सदस्य सचिव खेमराज देवकोटाको सहकार्यमा अधिवेशनले विभिन्न विषयमा छलफल र निर्णय गरेको थियो ।
नगर सभामा नगर प्रवक्ताहरू हरिपाल चर्तुवेदीले हुलाकी राजमार्ग गौरवको योजना भएपनि अझै पनि कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने विभिन्न भागमा पुल नबनेको गुनासो गर्नुभयो । संघीय सरकार र प्रदेश सरकारले हुलाकी राजमार्गमा पुल बनाउनुपर्ने वडाध्यक्ष चतुर्वेदीले खुलेर माग गर्नुभयो ।
नगरसभामा तुग्झनाथ चौधरी, र कृष्णकुमार गुप्ताले नगरपालिकाका गतिविधिहरूको जानकारी गराउँदै जनताको सहभागिता र सुझावलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू तयार पार्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सभामा नगर सभा सदस्यहरूले प्रस्तुत प्रतिवेदनहरूबारे छलफल गरी आर्थिक विधेयकलाई अनुमोदन गर्ने निर्णय भएको छ ।
कृष्णनगर नगरपालिकाको नगरसभाले नगरवासीहरूको जीवनस्तर उकास्ने दीर्घकालीन योजनाहरूलाई अघि बढाउने निर्णय लिएको छ ।