गृहपृष्ठ Featured ५८९ करदाताबाट ६ महिनामा एक खर्ब १५ अर्ब राजस्व

५८९ करदाताबाट ६ महिनामा एक खर्ब १५ अर्ब राजस्व

प्रकाशित मिति:

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ठुला करदाताहरू मार्फत करिब एक खर्ब १५ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। वार्षिक एक अर्ब रूपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाता निकायहरूलाई ठुला करदाता भन्ने गरिन्छ।

ठुला करदाता कार्यालयबाट प्रशासन गरिने यस्ता करदाता ५८९ मात्रै छन्।

औसत रूपमा यस्ता करदातबाट संकलन हुने राजस्वमा सुधार देखिएको छ। विशेष गरी पुस महिनामा यी करदाताले बुझाउने राजस्वले ठुलो अर्थ राख्ने गर्छ।

आर्थिक ऐनको व्यवस्था अनुसार चालु वर्षमा हुने अनुमानित (आकलन गरिएको) आयको आधारमा तिर्ने कर मध्ये पुसमा ४० प्रतिशत बुझाउनु पर्ने हुन्छ। यस्ता करदाताहरूबाट पुस महिनामा संकलन हुने राजस्व मात्रै ४६ अर्ब ३५ करोड रूपैयाँ छ।

ठुला करदाताको कार्यालयबाट गत वर्षको पुस महिनामा उठेको राजस्वको तुलनामा ३२ प्रतिशत बढेको छ। गत वर्ष पुस महिनामा ३५ अर्ब आठ करोड रूपैयाँ मात्रै संकलन भएको थियो।
‘पुसमा आयकर धेरै उठ्ने हो। आयकर बढी हुनुको अर्थ आम्दानीमा सुधार आएको हो। यस्तो राजस्व बढ्नुले करदाताको आयमा सुधार आएको संकेत गरेको छ’ ठुला करदाता कार्यालयमा प्रमुख कर प्रशासक रमेश अर्यालले बताए।

यो कार्यालयबाट पुस मसान्तको दिन अर्थात् हिजो मात्रै १० अर्ब बढीको कर राजस्व संकलन भएको थियो। त्यस्तै पुस महिनाभर ४६ अर्ब ३५ करोड र साउनदेखि पुस महिनासम्मको अवधिमा करिब एक खर्ब १५ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ।

आन्तरिक राजस्व विभागको स्रोत अनुसार धेरै कम्पनीहरूको आय करमा सुधार देखिए पनि सरकारी संस्थानको  आयकर उल्लेख्य घटेको छ। यसको अर्थ यस्ता कम्पनीले यो वर्ष गर्ने आय कम हुने आकलन गरेका छन्।

स्रोतका अनुसार सरकारी संस्थान र केही बैंक तथा वित्तीय कम्पनी गरी  १२ वटा निकायबाट गत वर्षको भन्दा करिब तीन अर्ब आयकर कम संलन भएको छ।

 

जस्तै नेपाल दूरसञ्चार प्राधिकरण गत वर्ष पुस महिनामा ४० करोड कर आयकर संकलन गरेको थियो। यो वर्ष भने यस्तो कर उपलब्ध गराएको छैन।

सम्बन्धित् समाचार