पाल्पा ।
पाल्पा, गुल्मी र स्याङ्जाको संगम रुरु क्षेत्र रिडीमा लाग्ने माघे संक्रान्ति मेला भर्न मंगलबार बिहानैदेखि श्रद्धालु भक्तजन पुगेका छन् ।
नेपालको चारधाममध्ये एक रुरु क्षेत्र रिडीधाममा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिन धार्मिक मेला लाग्ने गर्छ । मेलाका लागि पाल्पा, गुल्मी र स्याङ्जातर्फ स्टलहरू तयार पारिएको छ ।
कालीगण्डकी नदीमा नुहाउने र पाल्पाको तानसेन नगरपालिका-१४ अर्गलीमा रहेको ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।
ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईका अनुसार तीन वटै जिल्लाले आआफ्नो ढंगले मेला लगाउने तयारी गरेका छन् । पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजनकीर्तन, पूजापाठ, भण्डार, दान पुण्यजस्ता कार्यक्रम हुने भट्टराईले बताए ।