अर्घाखाँची — अर्घाखाँची प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्यालको कार्यकक्षमा उच्छृंखल गतिविधि गरेको आरोपमा चार जना युवा पक्राउ परेका छन् । सोमबार भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे, डासिराम श्रेष्ठ, मदन श्रेष्ठ र रविन परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई प्रमुख जिल्ला अधिकारीलाई अभद्र व्यवहारसमेत गरेको भन्दै थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना कात्तिक १९ गतेको हो ।
भूमिकास्थान नगरपालिका–५ र ६ सीमाना खिल्जीको उदयठाँटीमा गाउँका युवा, क्लब, विभिन्न समूहको संयुक्त देउसीभैलो सञ्चालन भएको थियो । सन्धिखर्कबाट प्यूठानतर्फ जाँदै गरेको ना ३ ख २४७१ नम्बरको बस अनियन्त्रित रुपमा भैलो खेलिरहेका कलाकारमाथि गएपछि बसले किच्दा दुई जनाको घटनास्थलमै ज्यान गयो । ३७ घाइते भए, अरु कलाकार भागेर ज्यान जोगाए ।
भएको बसले किच्दा ७२ वर्षीय रुनी खनाल र २२ वर्षीय तारा श्रेष्ठको जनाको घटनास्थलमै मृत्यु भएको थियो । कात्तिक २० गते घाइते बेल्वासे सहितका गाउँलेको ठूलो समूहले घटनाको प्रहरीले चासो नदेखाएको, ढिलासुस्ती गरेको, फरार चालकलाई नियन्त्रणमा नलिएको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको भेट अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरे । विरोधमा भूमिकास्थान नगर प्रमुख झविलाल थापा, बालकृष्ण बञ्जाडे लगायतको राजनीति दलका नेतासमेत सहभागी थिए ।