६ माघ, काठमाडौं । काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई मन्त्रीको विरोधका बीच युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि आज बिहानदेखि कार्यान्वयनमा आएको हो ।
अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने छ । यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्ने छन् ।
यसअघि इजरायलको न्याय मन्त्रालयले पहिलो चरणमा ७३७ प्यालेस्टिनी रिहा हुने जनाएको थियो । यद्यपि त्यसको पूर्णसूची सार्वजनिक भइसकेको छैन । तर मन्त्रालयले आइतबार ६९ महिला, १६ पुरुष र १० नाबालिगलाई मुक्त गर्ने जनाएको छ ।
युद्धविराम सम्झौता कार्यान्वयनको निगरानीका लागि इजिप्ट, अमेरिका, कतार र इजरायलका प्रतिनिधि रहेको एक संयुक्त समिति गठन गरिएको छ ।
आफन्तहरु भावुक
लामो समयपछि युद्ध बन्दीहरु रिहा हुन लागेको खबरले उनीहरुका आफन्त हर्षित र भावुक देखिएका छन् । शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरु भेला भएर आफ्ना आफन्तका लागि प्रार्थना गरिरहेको देखिएको थियो ।
सन् २०२३ को अक्टुबर ७ मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो ।
तीन चरणको युद्धविरामको क्रममा विपिन पनि रिहा हुने आशा नेपाल सरकारको छ ।
हमासले आक्रमण गरेको केही घण्टापछि इजरायली सेनाले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणबाट ४६ हजार जनाको मृत्यु भइसकेको छ ।
१५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो ।