पाल्पा ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, हिउँदेखोलास्थित भासिएको सडकमा रोकथामको काम सुरु भएको छ । सडक डिभिजन पाल्पाले गत साउन ७ गते भासिएको सडकमा ग्याबिन जाली पर्खाल, नाली निर्माण, बायो इन्जिनियरिङका साथै सब–बेस कार्य गर्ने गरी ठेक्का लगाएर काम सुरु गरको हो ।
हिउँदेखोलामा झन्डै ५० मिटर सडक भासिएर यातायात अवरुद्ध भएको थियो । यहाँ सडकको तल्लो भागमा पानी जमेको र त्यसलाई ड्रिलिङ गरेर सडक भित्रबाट पानी निकाल्ने व्यवस्था गर्ने गरी काम अघि बढेको सूचना अधिकारी दुर्गा गौतमले बताए । ‘सडक विभागले खटाएको विज्ञको प्रतिवेदनका आधारमा दिगो समाधानका हुने गरी कामको ठेक्का लगाएका हौं,’ उनले भने, ‘जमिनको एक्सरे गरेर पत्ता लागेअनुसार नै रोकथामको काम अघि बढेको छ ।’
सडक डिभिजनका अनुसार कन्सल्टेन्ट इन्जिनियर मधुसुधन आचार्यले गरेको अध्ययनबाट निस्किएको निष्कर्षको आधारमा नै लगत इस्टिमेट गरी ठेक्का लगाई काम सुरु गरेको हो । सडक भासिएपछि गत साउनमै कन्सल्टेन्ट इन्जिनियर आचार्यले हिउँदे खोलामा जमिनमुनिबाट पानी बगिरहेको र त्यही पानीलाई ड्रिलिङ गरेर निकाल्नुपर्ने सुझाव दिएका हुन् ।








