वैखरी अनलाईन, लुम्बिनी ।
शीतलहर बढेपछि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निःशुल्क दाउरा वितरण गरेको छ । हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएपछि सार्वजनिक स्थानमा आगो ताप्न नगरका १० वडामा १ कट्टाका दरले १० चट्टा दाउरा वितरण गरिएको विपद संयोजक शेषराम यादवले वैखरीलाई जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले वनसंग आवश्यक समन्वय गर्दै वडा नम्बर २, ३, ४, ६, ७, ८, १०, ११, १२ र १३ नम्बर वडामा दाउरा वितरण गरेको हो ।
नगरका मुख्य चोक, बजार क्षेत्र, विद्यालय र ग्रामीण भेग तथा विपन्न परिवारको घर छेउमा आगो ताप्नका लागि निःशुल्क रूपमा दाउरा वितरण गरिएको नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले बताए ।
सार्वजनिक स्थानमा आगो ताप्न पाउँदा दैनिक मजदुरी गर्ने र विपन्न वर्गका स्थानीयलाई सहज हुने भएकाले नगरका विभिन्न वडामा वडालाई जिम्मा लगाउने गरि आगो बाल्न दाउरा वितरण गरिएको उनले बताए ।
नगरवासीको आवश्यकताअनुसार जिल्ला वन कार्यालय र साझेदारी वनहरुसंग समन्वय गरि थप दाउरा वितरण गरिने उनले बताए ।
चिसो अत्यधिक भएपछि आवतजावत गर्ने नागरिक र ज्यालादारी काम गर्ने मजदुरहरु बढी लाभान्वित हुने उपप्रमुख कल्पना हरिजनको विश्वास छ ।