बुटवल ।
लुम्बिनी प्रदेश सभामा लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा उक्त विधेयक मुख्यमन्त्री चेतनारायण आचार्यका तर्फबाट भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले पेस गरेका हुन् ।
बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न, छाडा चौपाया नियन्त्रण गर्न, रातो किताबमा उल्लेख भएका योजनाहरू अहिलेसम्म पनि ठेक्का लाग्न नसकेको र सरकारले विकास बजेट खर्च गर्न नसकेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश सभा सदस्य माया पुनले सार्वजनिक लेखा समितिको बैठक बसेर पुस मसान्तभित्र दायित्व भुक्तानीको लागि निर्देशन दिएको तर, अझै पूर्ण कार्यान्वयन नभएको बताइन् ।
बैठकमा प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले अघिल्लो वर्षको दायित्व भुक्तानी ढिलाइ हुँदा परेको समस्याबारे ध्यानाकर्षण गराएका थिए । प्रदेश सभा सदस्य अम्बिका काफ्लेले मधेस आन्दोलनका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै ती उपलब्धिको रक्षामा ध्यान दिन आग्रह गरिन् ।
प्रदेश सभा सदस्य इन्द्रकुमारी गहतराजले बालबालिकालाई दण्ड–सजाय, मानसिक यातना दिनेजस्ता घटनाको छानबिन गर्न माग गरिन् ।