काठमाडौँ ।
अभियन्ता आशिका तामाङलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालले रातोपाटीलाई बताए ।
प्रहरी प्रतिवेदनको आधारमा उनीमाथि गौशाला प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । माघ २ मा पक्राउ परेकी आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ ।
पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी सुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् ।
प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ ।