अर्घाखाँची ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कर्मचारी जनशक्तिको अभाव नहुने बताएका छन् । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्ति विकासमा योगदान पुगेको आचार्यले बताए ।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका-६ नरपानीमा शनिबार सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा ४ हजार ७८ कर्मचारीको दरबन्दीमध्ये १ हजार ९ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने बताए ।
प्रदेश सरकार कर्मचारीको पक्षमा रहेकाले जनसेवाको कामलाई नियमनुसार प्रभावकारी बनाउन पनि उनले कर्मचारीलाई अनुरोध गरेका छन् ।
लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनको काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेको बताए । ‘पदपूर्ति र बढुवाको काम अघि बढेको छ, जनशक्तिको समस्या समाधान गर्न सरकार सफल हुँदैछ,’ उनले भने, ‘उपसचिवदेखिका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई अघि बढाउँछौं ।’








