वैखरी अनलाईन, बाणगंगा ।
कपिलबस्तुको बाणगंगा नगरपालिकामा किशोरीहरुको रक्तअल्पता परिक्षण गर्न सुरु गरिएको छ ।
बाणगंगा नगरपालिका– २ पिपरामा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परिक्षण गरि यस परिक्षण अभियानलाई सुरु गरिएको नगरपालिकाक स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
आइरन र फोलिक एसिड सेवन गरिरहेका किशोरीहरूको रक्त अल्पताको अवस्था जाँच गर्न परीक्षण सुरु गरिएको उनले बताए । नगरभित्रका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत कक्षा ६ भन्दा माथिका करिब ६ हजार भन्दा धेरै किशोरीहरुको रक्त अल्पता परिक्षण गरिने उनले बताए ।
सामुदायिक तथा निजी गरि ५३ वटा विद्यालयमा यो कार्यक्रम संचालन गर्ने लागिएको उनले बताए ।
उनले बाणगंगा यस कार्यक्रममा निजी विद्यालयलाई समावेश गर्ने देशमै पहिलो पालिका भएको दाबी गरे । २ महिना भित्र नगरका सबै विद्यालयमा रहेका किशोरीहरुको रक्तअल्पता परिक्षण गरिसक्ने उनले बताए ।
नगरप्रमुख चक्रपाणी अर्यालले किशोरीहरूको रक्त अल्पता परीक्षण गरी उनीहरूको वृद्धि र विकासका लागि यो कार्यक्रम महत्वपूर्ण सावित हुने बताए । रक्त अल्पताको परीक्षणबाट स्वस्थ नागरिक तयार गर्नका लागि सहयोग पुग्ने उनको विश्वास छ ।
स्वस्थ नागरिक र सभ्य समाज निर्माण तथा दिगो विकासको लक्ष्य हासिलका लागि पनि यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउने उनले बताए । दिनहुँ खाने खानपानमा पत्रु खानेकुराको प्रभाव बढेकाले किशोरीमा रक्तअल्पताको समस्या बढ्दै गएको उनले बताए ।
जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले रक्तअल्पता जाँचबाट किशोरीको पोषण तथा खानपानमा सुधार हुने बताए । उनले बाणगंगा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अब्बल काम गरेको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, स्वास्थ्य कार्यालय अधिकृत भक्ति पाण्डे, लगायतका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको समन्वयमा यो कार्यक्रम सुरु भएको हो ।