सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिका वडा नं.१ र २ छैठौं मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । बुधबार चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको पहिलो खेलमा वडा नं.८ लाई ३–० गोलले पराजित गर्दै वडा नं.२ सेमिफाईनलमा पुगेको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए ।
वडा नं.२ को जितमा गोविन्द पालुङ्गेले दुई गोल गरेका हुन् भने अशोक रायमाझीले एक गोल गरे । दुई गोल गरेका गोविन्द नै ‘म्यान अफ दि म्याच’ घोषित भए । अब वडा नं.२ विहिबार दिउँसो ३ बजे हुने सेमिफाईनल खेलमा वडा नं.१० संग भिड्ने छ ।
यस्तै बुधबार भएको दोस्रो खेलमा वडा नं.६ लाई टाईबे्रकरमा ४–२ गोलले पराजित गर्दै वडा नं.१ सेमिफाईनलमा पुगेको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको नतिजा टाईबे्रकरबाट टुङ्गो लागेको हो ।
यस खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा नं.६ का सुवास विक ‘म्यान अफ दि म्याच’ घोषित भए । अब वडा नं.१ ले विहिबार दिउँसो १२ बजे हुने सेमिफाईनल खेलमा वडा नं.९ को सामना गर्ने छ ।
यस प्रतियोगिताको फाईनल खेल यही माघ ३ गते हुने जनाईएको छ ।
आईतबारदेखि सुरु भएको छैठौं मेयर कप फुटवल प्रतियोगितामा हालसम्म वडा नं.३, ४, ५,६, ७, ८, ११ बाहिरिएका छन् ।