सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ बोडगाउँबाट मालपोत र नापी कार्यालयको सेवा सुरु भएको छ । आईतबार नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक भब्य समारोहबीच कार्यालयको उद्घाटन गरेसंगै सेवाको शुभारम्भ भएको हो ।

मन्त्री अधिकारीले मालपोत र नापी कार्यालय बाणगंगामा स्थापना गर्ने प्रयास २०७० सालमै गरेको स्मरण गराए । यद्यपी उक्त समयमा बाणगंगामा ईलाका प्रशासन कार्यालय नहरेकाले उक्त प्रयास असफल भएको उनले बताए ।
उनले यस कार्यालयलाई थप व्यवस्थित र सेवालाई सहज बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । जनताका समस्या समाधान तथा सरकारी सेवालाई छिटो छरिता बनाउन सरकार प्रयासरत रहेको उनले बताए ।

सरकार देशमा सुशासन कायम गर्न दृढताका साथ लागेको उनले दाबी गरे । “२०७२ सालमा पेस भएको अध्यादेश अझै पास भएको छैन् । हाम्रो काम गर्ने तौरतरिका अलि सुस्त छन् । जनतालाई सेवा प्रवाह छिटो चाहिएको छ । सरकारलाई पनि छिटो परिणाम चाहिएको छ । त्यसकारण सरकारले अध्यादेश ल्याएको छ,” उनले भने ।
सरकारले ६ वटा अध्यादेश ल्याएको बताउँदै उनले ति अध्यादेशमा २९ वटा कानुन रहेको बताए । उनले अध्यादेशको विरोध गर्नेहरुलाई एकपटक अध्ययन गरेर मात्र विरोध गर्न चुनौति दिए । उनले जनताको हितका लागी सरकारले अध्यादेश ल्याएको जिकिर गरे ।








