गुल्मी । गुल्मी जिल्लामा बिरामी बोक्न भनेर भित्राइएका १८ वटा एम्बुलेन्स प्रयोग विहीन भएका छन् ।
जिल्लामा रहेका कुल ५६ वटा एम्बुलेन्सहरु मध्ये ३८ वटा एम्बुलेन्सहरु मात्र सञ्चालनमा रहेका संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका अध्यक्ष मोहन केसीले बताए । बाँकी १८ वटा एम्बुलेन्सहरु आर्थिक अभावका कारण मर्मत गर्न नसकी थन्किएका उनको भनाइ छ ।
गुल्मीमा सरकारी निकाय र परोपकारी संस्थाहरुबाट एम्बुलेन्स सञ्चालन हुने गरेका छन् । तर ती नयाँ हुन्जेल चलाउने र पुराना हुँदै गएपछि नचलाउने प्रवृत्ति छ ।
पहाडी क्षेत्रमा भौगोलिक कठिनाइ र जिल्ला दररेटले गर्दा पनि एम्बुलेन्स सञ्चालनमा समस्या बढ्दै गएको संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका अध्यक्ष मोहन केसी बताउँछन् ।
हाल गुल्मी जिल्ला रहेका पुराना एम्बुलेन्सहरु ग र घ श्रेणीका छन् । अहिले नयाँ ल्याउनेहरुले क र ख श्रेणीका ल्याउने गरेका छन् ।
त्यसले पनि पुराना एम्बुलेन्सहरु चलाउन छाड्ने गरिएको छ । पुराना एम्बुलेन्सको स्तरवृद्धि गर्न समस्या हुने र लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया अपनाउनुपर्ने भएकाले यत्तिकै थन्किने गरेको सञ्चालकहरु बताउँछन् ।









