निजामुद्दीन तेली
नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गर्दै सम्पन्न भएको छ।
बैठक ने.वि.संघ फलाहारी बाबा बहुमुखी क्याम्पस इकाई कार्यसमितिको सहयोग मा सम्पन्न भएको हो। यस जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम मा स्ववियु निर्वाचनका तयारी, रणनीति तथा संगठन विस्तारका विषयमा गहन छलफल गरिएको थियो। नेविसंघ कपिलवस्तुका अध्यक्ष चन्द्रकान्त पोख्रेलको अध्यक्षतामा विशिष्ट अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री एवम् संघीय सांसद क्षेत्र नं.२ साथै नेपाल सरकारका पूर्व मन्त्री माननिय श्री सुरेन्द्र राज अचार्य ,विशिष्ट अतिथि नेपाली काँग्रेस कपिलवस्तु जिल्ला सभापति एवं महाराजगंज नगरपालिकाको नगरप्रमुख अब्दुल कलाम मुसलमान ,अतिथि नेपाली काँग्रेस कपिलवस्तु पूर्व जिल्ला सभापति एवं प्रदेश सभा सदस्य सुधाकर पाण्डे ,अथिति नेपाली काँग्रेस कपिलवस्तुका उपसभापति हुमकान्त खनाल,नेपाली काँग्रेस कपिलवस्तु जिल्लाका सचिव खोम बहादुर सिंह ठकुरी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रममा सहभागीहरूले आसन्न स्ववियु निर्वाचनका लागि विभिन्न विषयमा छलफल गर्दै आवश्यक तयारीका उपायहरू पहिचान गरे।
बैठकमा सहभागी विद्यार्थी नेताहरूले स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदवारहरूको जित सुनिश्चित गर्न आवश्यक रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। संगठनात्मक सुदृढीकरण, विद्यार्थी मतदाता परिचालन तथा क्याम्पसस्तरमा प्रभावकारी अभियान सञ्चालनका लागि कार्ययोजना बनाउने विषयमा पनि छलफल गरिएको थियो।नेपाल विद्यार्थी संघ को आदर्शहरु बारे प्रशिक्षकहरुले प्रष्ट परेका थिए।
कार्यक्रममा नेविसंघका विभिन्न पदाधिकारीहरूले आफ्ना धारणा राख्दै विद्यार्थी हकहितका लागि नेविसंघले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि हुमकान्त खनालले नेविसंघ विद्यार्थी अधिकारको पहरेदार भएको उल्लेख गर्दै आसन्न स्ववियु निर्वाचनमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूबीच सहकार्य र आपसी समझदारी जरुरी रहेको बताउँदै संगठनलाई बलियो बनाउन सबै तहका विद्यार्थी नेताहरूले सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
यस विशेष एक दिने प्रशिक्षण कार्यक्रममा नेविसंघ पूर्व जिल्ला अध्यक्ष,उपाध्यक्ष तथा पालिका कार्यसमितिहरूका प्रतिनिधिहरूले पनि आ-आफ्ना विचार तथा सुझाव प्रस्तुत गरेका थिए। प्रशिक्षण कार्यक्रममा स्ववियु निर्वाचनमा उम्मेदवार चयन प्रक्रिया, प्रचार-प्रसारका उपाय तथा विद्यार्थीहरूसँगको समन्वय कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमका स्वागत मन्तव्य नेविसंघ स्ववियू अध्यक्ष निल कमल थारुले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नेविसंघ जिल्ला सहसचिव सोना पाण्डेले गर्नुभएको थियो।
जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमले स्ववियु निर्वाचनका लागि आवश्यक पूर्वतयारी, विद्यार्थीहरूको आवश्यकताका आधारमा निर्माण गरिने घोषणापत्र तथा निर्वाचनको रणनीति तय गर्दै सम्पन्न भएको छ। बैठकमा भएका महत्वपूर्ण निर्णयहरू आगामी दिनमा कार्यान्वयन गर्दै विद्यार्थीहरूको हकहितका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।