काठमाडौँ । भूमि, व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले अहिलेको सरकार गठन भएदेखि फागुन २० गतेसम्म ८ हजार १५५ जना सहकारी बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गराइएको जानकारी दिएका छन् ।
प्रतिनिधि सभामा सहकारी सम्बन्धी अध्यादेशमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले ती बचतकर्ताको १ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बचत रकम फिर्ता गराइएको बताए ।
उनका अनुसार एक हजार जना सहकारीका ऋणी सदस्यबाट ३१ करोड रुपैयाँ असुल उपर गरिएको र ७ हजार ऋणी सदस्यको खाता रोक्का गरिएको छ । उनले ऋण असुली नियमित गराइएको र प्राधिकरणमार्फत काम भइरहेको बताए ।
सहकारीबाट ऋण लिँदा पनि धितो अनिवार्य गरिएको मन्त्री अधिकारीले बताए । आफ्नै पालामा गर्न खोजिएको काम अहिलेको सरकारले गर्दा पनि विपक्षमा रहेका दलका सांसदहरुले आलोचना गरेको बताए ।