गृहपृष्ठ Featured विजयनगरमा पनि मनाइयो ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

विजयनगरमा पनि मनाइयो ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

प्रकाशित मिति:

आरती परियार/सुनिता थारु

विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा पनि ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । विश्वभरि श्रमिक महिला दिवस मनाइरहँदा “सबैे महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण” भन्ने मूल नाराका साथ गाउँपालिकाको आयोजनामा उत्तः दिवस मनाईएको हो ।

प्लेकार्डमा विभिन्न हकअधिकारको माग सुनिश्चित हुनुपर्ने नाराको साथै र्यालीसहित अन्तरक्रिया कार्यक्रम गरि दिवसलाई भव्य रुपमा मनाइएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य तथा नेकपा एमाले पोलिट व्युरो सदस्य शान्ता चौधरीले महिलाहरु पनि आत्मनिर्भर हुन आवश्यक रहेको बताएकी छन् । उनले महिलाहरु व्यावसायिक हुँदै आर्थिक रुपमा अब्बल भएपछि विभेद हट्दै जाने बताइन् । उनले सरकारले दिँदै आएको विभिन्न सीपमूलक, रोजगारमूलक तालिमलाई व्यवहारमा लागू गर्नुपर्ने बताइन् । महिलाहरुले अधिकार, समानता, सशक्तीकरणका लागि ठुलो चुनौती भएको बताउँदै आफ्ना हक अधिकार प्राप्तिका लागि संघर्ष गर्दै जानुपर्नेमा चौधरीले जिकिर गरिन् ।

महिलाहरुलाई घरबाटै निस्कनै चुनौती भएको बताउँदै समाजमा विभिन्न लाञ्छना लाग्दै आएको हुँदा सामाजिक रुपमा अगाडी बढ्न समस्या सिर्जना हुने गरेको उनले बताइन् । यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले छोरा सरह छोरीलाई शिक्षित बनाउनुुपर्नेमा जोड दिए । विभेद नगरि छोराछोरीलाई बराबर रुपमा शिक्षा दिनुपर्ने बताउँदै महिलाहरुले घरको काममा मात्र सिमित नभई व्यावसायिक बन्न आवश्यक रहेको उनले बताए । आर्थिक रुपमा सक्षम भएपछि विभेदका कुराहरु विस्तारै हट्दै जाने अध्यक्ष थापाको भनाइ छ ।

यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्थानीय सरकार आएपछि महिलाहरुको सहभागीता बढ्दै गएको बताइन् । न्यायिक समितिमा पनि महिलाको संख्या बढ्दै गएको उनले जिकिर गरिन् । तर अझै पनि ३३ प्रतिशत महिलाको सहभागीता अनिवार्य हुनुपर्ने अधिकार भए पनि कागजमा मात्र सिमित भएको बताउँदै सचेत हुनुपर्ने उनले बताइन् । दाइजो प्रथाका कारण महिलाहरु विभेदका समस्या झेल्दै आएको बताउँदै दाइजो प्रथाको अन्त्य हुनुपर्नेमा उनले जोड दिइन् ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सरकारले विभिन्न अवसर दिएको बताए । उनले समाजमा जरा गाडेर बसेको बताउँदै सशक्तीकरणको आवश्यकता परेको बताए । साँस्कृतिक, कुप्रथा, परम्परा र सामाजिक कारण विभेद भएकोले पहिचान गरि समानता ल्याउनुपर्ने रिजालले बताए ।

कार्यक्रमलाई ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, प्रहरी सहायक निरीक्षक सिर्जना पुरी, अमृता खड्का, सकुन्तला भण्डारी, निर्मला सापकोटा लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रममा प्रेम कुमारी पाठकको स्वागत मन्तव्य र वडा सचिव रचना पौडेलको सञ्चालनमा सम्पन्न भएको थियोे ।

सम्बन्धित् समाचार