मनोज पौडेल, कपिलवस्तु ।
उल्लास र उमंग सञ्चार गर्ने पर्व होली शुक्रबार बिहानैदेखि सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा खेलेर मनाइयो। सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर-घरमा खेलेका थिए। यहाँ बालबालिका, युवादेखि महिला र बुढापाका पनि सडकमा होली खेल्दै रमाइलो गरेका थिए।
चोकचोकमा होलीका आधुनिक गीत संगीतका डिजे बजाएर रमाइलो गर्ने उत्तिकै थिए। रंग र अबिरसँगै नाचगान गर्दै रमाउने समूह पनि सडकमा उस्तै हिँडेका थिए।
अधिकांश बजार र ग्रामीण क्षेत्र रंग, अबिर, लोला र पिचकारीका रंगले रंगिए। बिहानैदेखि होलीका सामान पाइने पसलमा भीड थियो। तौलिहवा, प्रमुख व्यापारिक केन्द्र कृष्णनगर र चन्द्रौटा बजार होलीमय बनेको छ।
आपसी मित्रता र सद्भाव प्रगाढ बनाउन होली खेलेर खुसीयाली साटासाट गरिएको अवध लोककला विशेषज्ञ विक्रममणी त्रिपाठीले बताए। यहाँ सर्वसाधारण, कर्मचारी, दलका नेतादेखि कार्यकर्ता समूह-समूहमा होली खेलेर रमाइलो गरेका थिए।
होलीमा अमर्यादित र दुर्घटनालाई मध्यनजर गरेर प्रहरीले ठाउँ-ठाउँमा चेकजाँच कडा गरेर सुरक्षा व्यवस्था सुदृढ गरेको थियो।