वैखरी अनलाईन, बाणगंगा ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड स्तरोन्नतिको काम समयमै सम्पन्न गर्नका लागि दबाब दिन बाणगंगा नगरपालिकामा नागरिक निगरानी समूह गठन गरिएको छ ।
बुधबार कपिलवस्तर उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा भएको सरोकारवालाहरुको भेलाले विष्णु थापाको संयोजकत्वमा नागरिक निगरानी समूह गठन गरेको हो ।
जसको सहसंयोजकमा गोपाल भट्टराई, सुरेश खत्री, हुमनाथ पौडेल र विष्णु खनाल रहेका छन् भने सचिवमा सुवास सल्यानी छन् । समूहको सदस्यहरुमा अशोक खत्री, हिम बहादुर कार्की, दामोदर पन्थी, कृष्ण गैरे, राजु पन्त, मनोज पौडेल, विष्णु घिमिरे, कृष्ण चालिसे टोनारायण बेल्वासे, तुल्सी अर्याल, टिकाराम पन्थी, मोतिराम घिमिरे, उमेश पौडेल लगायत रहेका छन् ।
संयोजक विष्णु थापाले यस समूहले सडक स्तरोन्नतिका कामको प्रभावकारिताको नजिकबाट निगरानी गर्नेसंगै स्थानीय नागरिकहरुका सरोकारका विषयहरु उठान गर्ने बताए । उनले बुटवल–नारायणघाट सडकखण्डमा जस्तो ढिलासुस्ती र बेतिथि हुन नदिन नागरिक निगरानी समूह गठन भएको प्रष्ट पारे ।
उनले आगामी शुक्रबार समूहको बैठक बस्ने र समूहको आगामी रणनिति तय गर्ने जानकारी दिए ।
सरोकारवालाहरुको उक्त भेलामा केन्द्रिय संयोजक छविलाल पाठकसहित डोलकराम घिमिरे, गणेश क्षेत्री लगायतकाको उपस्थिती रहेको थियो ।
वि.स.२०२० सालमा तत्कालीन राजा महेन्द्रको पालामा निर्माण गरिएको यो सडक ६० वर्षपछि स्तरोन्नति हुदैंछ । बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी ६९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति गरिदैं छ । सडक स्तरोन्नतिको काम तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।
अहिले यस सडकखण्डको काम तीब्र गतिमा भईरहेको छ ।