गृहपृष्ठ Featured ४५.५८ प्रतिशत पुग्यो सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति

४५.५८ प्रतिशत पुग्यो सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति

प्रकाशित मिति:

पाल्पा । 

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक प्रगति ४५.५८ प्रतिशत पुगेको छ । आयोजना कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार वित्तीय प्रगति ४३.०८ प्रतिशत रहेको छ ।

आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर हुनेछ । यसमध्ये उत्तरतर्फ मुख्य सुरुङको इन्भर्टको काम २ सय ५० मिटर भइसकेको छ । दक्षिणतर्फ ३ सय २० मिटर काम गरी कुल ५७०.४ मिटर इन्भर्टको काम सकिएको आयोजना कार्यालयले जनाएको हो ।

मुख्य सुरुङमा लाइनिङको काम भने उत्तरतर्फ ९० मिटर र दक्षिणतर्फ १६० मिटर गरी २ सय ५० मिटर लाइनिङको काम सकिएको छ । यस्तै तीनवटै बाइपास ब्रेकथ्रु भए पनि यसको इन्भर्ट, लाइनिङको काम सुरु भएको छैन । स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५, उत्तरतर्फ ११०० मध्ये ४९५, एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७४४० मध्ये १४१४ स्क्वायर मिटर काम भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार समयभित्र निर्माण व्यवसायीले काम गर्दा पनि सवारी गुडाउन अझै एक वर्ष अझै लाग्नेछ । सुरुङमार्गमा सवारी साधन गुडिरहेका बेला आपातकालीन अवस्थामा यात्रुलाई उद्धार गर्न १५१ मिटरको पहिलो बाइपास, १६१ मिटरको दोस्रो बाइपास र १३० मिटर दूरीको तेस्रो बाइपास पनि निर्माण गरिएको छ । बाहिरतर्फ अहिलेको सडक भत्काएर गर्नुपर्ने भएकाले यातायात मुख्य सुरुङबाट सञ्चालन गर्नुपर्ने प्रमुख अधिकारीले बताए ।

सम्बन्धित् समाचार