काठमाडौं ।
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्ड तर्फ ४७ किलोमिटर सडक कालोपत्र भएको छ।
नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड_ कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ। गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी अहिले देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ। यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन्।
निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने कार्यालयका सूचना अधिकारी शिव खनालले जानकारी दिए।
विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ। केही हप्ता अगाडि अत्यधिक भारवहन भएको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन्।
सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार जारी रहेको बताए।