गृहपृष्ठ Featured बढ्न थाल्यो अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

बढ्न थाल्यो अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

प्रकाशित मिति:

दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ ।

ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । ‘मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको छ,’ उनले भने, ‘शरद ऋतुपछि यो याममा धेरै पर्यटक नेपाल भित्रिन्छन् ।’

अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको  पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए ।

गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रूपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथा व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण संकटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा २ लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए, जसमा दक्षिण एसियाली मुलुकका १ लाख ३२ हजार ९४ र अन्य मुलुकका १ लाख ११ हजार ९ सय ५१ रहेका थिए । उक्त संख्या हालसम्मकै बढी रहेको आयोजना प्रमुख डा रविन कडरियाले बताए । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा १ लाख ९१ हजार ५ सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।

सम्बन्धित् समाचार