गृहपृष्ठ Featured ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि : चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि : चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ

प्रकाशित मिति:

सुनसरी । 

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ। यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’  प्रयोग भएको पुष्टि भएको हो।

सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन्।

परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड(शिक्षक)ले मोबाइल अफ गरेका थिए।

उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएप मार्फत च्याट गरिएको भेटिएको थियो।

ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी सङ्ख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको उनले बताए।

त्यसैगरी अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए। भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।

सम्बन्धित् समाचार