बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य विनोद चौधरीसँग मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताएका हुन् ।
प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको समेत मुख्यमन्त्रीले सांसद चौधरीलाई सुनाए ।
‘प्रदेश सरकारले बुद्ध सर्किटको योजना बनाएको छ , यहाँ मोनोरेल चलाउन सकिन्छ,त्यसका लागि निजी क्षेत्रको साथ खोजिरहेका छौं,’ मुखयमन्त्री आचार्यले भने ।
मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ब्रान्डिङ गरी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पहिलो गन्तव्य स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको समेत बताए ।
पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर बृहत योजना निर्माण गरिने पनि उनले बताए ।