बुटवल ।
लुम्बिनी प्रदेशमा रहेका दुई ठुला भैरहवा र नेपालगञ्ज भन्सार कार्यालय विभागले तोकेको वार्षिक लक्ष्यमा पुग्न असफल हुने देखिएको छ ।
चालु आर्थिक वर्षको आठ महिना अर्थात् साउनदेखि फागुन अन्तिमसम्म भैरहवा भन्सार कार्यालय रूपन्देहीले वार्षिक लक्ष्यको जम्मा ५५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । नेपालगञ्ज भन्सार कार्यालय बाँकेले पनि यही अवधिमा ४६. ५८ प्रतिशत मात्र सङ्कलन गरेको छ ।
अर्को आर्थिक वर्ष सुरु हुन चार महिना मात्र बाँकी छ । यस्तोमा विभागले तोकेको लक्ष्य भेट्टाउन मुस्किल पर्ने भन्सार कार्यालयका अधिकारीहरूले बताएका छन् ।
भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षमा एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ असुल गर्ने लक्ष्य पाएको थियो । उसले यो आठ महिनामा ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यस्तै नेपालगञ्ज भन्सार कार्यालय बाँकेले साउनदेखि फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । उसले यो आर्थिक वर्षमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले विगतमा पेट्रोल, डिजेल, चारपाङ्ग्रे सवारीसाधन आदिको आयात हेरेर लक्ष्य निर्धारण भए पनि अहिले त्यो निकै कम भएकाले राजस्व सङ्कलन लक्ष्यमा पुग्न गाह्रो हुने बताए ।
यस्तै नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले बजारको शिथिलताको असर परेको बताए ।
भारतबाट दैनिक उपभोग्य वस्तुहरू आएका तर ठुला उपकरण तथा पेट्रोलियम पदार्थजस्ता राजस्व धेरै आउने वस्तुहरू कम आएका उनले बताए । उनले पनि राजस्वको लक्ष्य भेट्टाउन कठिन हुने बताए ।