रुपन्देही ।
बुद्ध जन्मस्थल लुम्बिनी पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता झन् बढेको बताएकी छन् ।
गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार प्रसार गरी नेपालले शान्ति दूतको भूमिका निर्वाह गर्नसक्ने उनको भनाइ छ ।
आज लुम्बिनी विकास कोष क्षेत्रभित्र थुक्छे छोइलिङ मोनास्ट्री (गुम्बा) को शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्त्व अहिलेको समयमा झनै बढेको बताएकी हुन् । उनी हिजो बिहीबारदेखि रुपन्देहीमा छन् ।
बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
पूर्वराष्ट्रपति भण्डारी तीन दिन रुपन्देहीमा बस्ने गरी बिहीबार भैरहवा आएकी थिइन् । भण्डारी भोलि शनिबार लुम्बिनी प्रदेशभरका स्थानीय र प्रदेशका महिला जनप्रतिनिधि सहभागी हुने कार्यक्रममा सहभागी हुँदैछिन् । भण्डारी १७ चैतमा काठमाडौं फर्कने छन् ।








