प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कडाभन्दा कडा कारबाही गरिने बताएका हुन् । ‘तीनकुने घटना निन्दनीय र खेदजनक छ । उक्त घटनामा संलग्नहरूमाथि सरकारले कारबाही गर्छ, कसैले उन्मुक्ति पाउँदैनन्,’ उनले भने ।
प्रधानमन्त्री ओलीले तीनकुने घटनाको आयोजकमध्ये केही नाम संसदमा प्रतिनिधित्व गर्ने दलका सांसद तथा नेताहरू रहेको पनि बताए ।
‘आयोजक को हुन् भन्ने आशंका र द्विविधा थियो । द्विविधा आयोजकमध्ये केही नाम संसदमा उपस्थित दलका नेताहरूको नाम थियो । जहाँ कार्यक्रम गर्न ठाउँ तोकिएको थियो । त्यो ठाउँमा कार्यक्रम नगरेर उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भिड सल्बलाउन थाल्यो । सभा वा मन्तव्य होइन, प्रदर्शनका कथित जनकमाण्डर आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले प्रयास गरेको पनि दाबी गरे । ‘भिड नियन्त्रण गर्न प्रहरीले प्रयास गरेको थियो । प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बन्दुक खोस्ने काम भयो,’ उनले भने ।








