गृहपृष्ठ Featured बुटवल–गोरुसिंगे सडक विस्तारको काम तीव्र : १० पुल निर्माणको काम धमाधम

बुटवल–गोरुसिंगे सडक विस्तारको काम तीव्र : १० पुल निर्माणको काम धमाधम

पूर्व–पश्चिम राजमार्गको बुटवलदेखि गोरुसिंगेसम्मको सडक विस्तारको काम तीव्र पारिएको छ ।

सडकको माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा र उपप्रधानमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले भौतिक रुपमै उपस्थित भएर शिलान्यास गरेका थिए ।

सडक विस्तारका लागि सडक किनारका रुख काट्ने काम सकिएको छ । कपिलवस्तु खण्डका केही विद्युत्‌का पोल सार्ने काम पनि अन्तिम चरणमा पुगेको र १० स्थानमा पुल निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

सडक परियोजना कार्यालयकी इन्जिनियर कुलशता न्यौपानको अनुसार पहिलो चरण अन्तर्गत काम भइरहेको रुपन्देही क्षेत्रमा पर्ने ३० किलोमिटर र कपिलवस्तु क्षेत्रमा पर्ने २० किलोमिटर खण्डमध्ये रुपन्देहीतर्फ ६ वटा र कपिलवस्तु खण्डमा ४ वटा पुल निर्माणको काम धमाधम अघि बढेको छ ।

‘रुपन्देही खण्डको रुख कटान र विद्युत्‌का पोल हटाउने काम ९५ प्रतिशत सकिएको छ । तर, कपिलवस्तु क्षेत्रका केही विद्युत्‌का पोल हटाउने काम बाँकी छ,’ उनले भनिन्, ‘त्यसलगत्तै रिटनिङ वाल र कल्भर्ट निर्माणको काम पनि तुरुन्तै सुरु हुन्छ ।’

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सडक विस्तारका लागि सम्झौता भएको छ । परियोजनाले कपिलस्तुमा फिल्ड कार्यालय स्थापना गरेर काम सुरु गरेको थियो ।

सम्बन्धित् समाचार