गृहपृष्ठ Featured शितगंगा–९ : वडा एक, कार्यालय तीन

शितगंगा–९ : वडा एक, कार्यालय तीन

अर्घाखाँची ।

शितगंगा नगरपालिका–९ मा तीन ठाउँमा वडा कार्यालय छन् । एक सय १८ वर्ग किमीमा फैलिएको सिद्धारामा भौगोलिक जटिलताका कारण सेवाग्राहीको सहजताको लागि करमगैरा, लौरी र भक्काचौरमा वडा कार्यालय स्थापना गरिएको हो ।

सुरुमा वडा कार्यालय करमगैरामा राखिएको थियो । वडाभित्रका अन्य गाउँका सेवाग्राहीलाई करमगैरा आउन पैदल हिँडेर ६/७ घण्टा समय लाग्थ्यो । दुर्गम र जंगलभित्रका छरिएका सबै बस्तीमा मोटर सुविधा छैन । सेवाग्राहीको सहजताका लागि थप दुई ठाउँमा कार्यालय खोलिएको वडाध्यक्ष भीम केसीले बताए ।

करमगैरा र लौरीमा वडा कार्यालय भवन बनेका छन् । भक्कुचौरमा मासिक दुई हजार भाडा तिर्नेगरी कार्यालय राखिएको छ । तीनवटै ठाउँमा कार्यालय सहयोगी राखिएको छ । भक्काचौरमा विमल परियार, करमगैरामा शिमा घर्ती र लौरीमा प्रशु गाहाले गाउँका सेवाग्राहीको फाइल संकलन गरेर राख्छन् ।

‘जहाँ बढी जरुरी छ, त्यहाँ पुग्छौं,’ केसीले भने, ‘सेवाग्रहीका माग सहितका फाइल, निवेदन संकलन गरेर सातामा सचिव र म तीन ठाउँमा पुगेर सेवा दिन्छौं । छ/सात घण्टा सेवाग्राहीलाई पैदल हिँडाउनुभन्दा हामी आफैं दौडिएर काम गरेका छौं ।’

पुरानो संरचनाको सिद्धारा गाविस नयाँ संरचनामा शितगंगा नगरपालिकाको वडा ९, १० र ११ मा विभाजित छ । वडा ९ साविक सिद्धारा गाविसको वडा १, ७ र ८ मिली बनेको हो । हाल ५ सय ७२ घरधुरी संख्याका ३ हजार ८२ जनसंख्या रहेको छ । सिंगो सिद्धारा दुर्गम बस्ती हो । नयाँ संरचनामा तीनवटा वडा बनाइए पनि वडा ९ लाई थप दुईवटा वडा बनाउनुपर्ने आवश्यक्ता रहेको केसीले बताए ।

सम्बन्धित् समाचार