बागलुङ ।
चैत्राष्टमीको अवसरमा नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठको रुपमा रहेको कालिका भगवती मन्दिर बागलुङमा शनिबार श्रद्वालु भक्तजनको घुइँचो लागेको छ । चैत्राष्टमीको दिन मन्दिरमा पूजा गर्ने भक्तजनहरु देशका विभिन्न स्थानबाट बिहानैदेखि आएका छन् ।
बागलुङको रामरेखास्थित रमणीय मनमोहक जङ्गलको बिचमा अवस्थित कालिका मन्दिरमा चैत्राष्टमीको दिन पूजा गर्ने धर्मालम्बीहरुको बाक्लो भिड बढेको छ । प्रत्येक वर्ष यस मन्दिरमा बडा दसैँ र चैते दसैँको अवसरमा विशेष पूजा अर्चना हुने गर्दछ । मन्दिरमा पूजा गर्ने भक्तजनहरु बिहानैदेखि लाइनमा बसेका छन् ।
कालिका भगवती मन्दिरमा आएर पूजा गर्दा मनले चिताएको पूरा हुने विश्वास रहेको काठमाडौंबाट आएको चन्द्रप्रसाद गौतमले बताउनुभो ।
१५ औँ शताब्दीको बास्तुकलात्मक महत्त्व एवम् धार्मिक आस्था बोकेको कालिका भगवती मन्दिरको महिमा अझै बढ्दै गएको स्थानीय अग्रज हरिप्रसाद गौतमको भनाइ छ ।
मन्दिरमा पूजा अर्चना गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । यसबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने गरेको कालिका भगवती गुठी व्यस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । चैत्राष्टमीमा कालिका मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीहरुका लागि सहज व्यवस्थापन गरिएको खडकाले उहाँले बताउनुभयो ।
विशेष गरी नवदुर्गाका साथै शनिबार, मङ्गलबारसमेत यस मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरु आउने गर्दछन् । यस वर्षको चैत्राष्टमीको अवसरमा झन्डै पाँच लाख भक्तजनले मन्दिरमा पूजा गर्ने गरी आवश्यक तयारी गरिएको छ ।








