पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डमा सडक विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ । चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म बाटो बन्द गरिने भएको हो ।
पहिलो पाँच दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टा र बाँकी १५ दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो । यहाँ तीन लेनको सडक बन्नेछ । जसअन्तर्गत चैत २७ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टा र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ ।
जसका लागि सडक विभागले सूचना जारी गरी ट्रक, टिपरलगायत हेबी सवारीसाधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिनेछ ।
त्यसैगरी यात्रुवाहक बस, मिनीबस, जिप, कारलगायतका सवारीसाधनलाई पूर्वमा दुम्कीवासमा र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने आज सडक विभागले जारी गरेको सूचनामा जनाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कम्पनीले सडकमा गाडीको चाप हुँदा काम गर्न नपाएको भन्दै गुनासो गरेपछि पहिलो पाँचदिने दैनिक ४ घण्टाको दरले सवारी आवागमन बन्द गरेर बाटाका खाल्डाखुल्डी पुर्ने र बाटो सम्याउनका लागि समय बताए ।
त्यसैगरी वैशाख गतेदेखि १५ गतेसम्म दैनिक राति ६ घण्टा पहाड काट्नका लागि समय दिने गरी निर्यण भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।
ट्राफिक प्रहरी निरीक्षक बन्जाराका अनुसार चैत २७ देखि ३१ गतेसम्म पाँच दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तारको काम गरिने भएको हो ।








