गृहपृष्ठ Featured पाल्पामा डढेलोले ७ सय हेक्टर बढी जंगल सखाप

पाल्पामा डढेलोले ७ सय हेक्टर बढी जंगल सखाप

पाल्पा ।

पाल्पामा केही दिनयता सरकारी तथा सामुदायिक वन क्षेत्रमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल जंगल सखाप पारेको छ । डिभिजन वन कार्यालय पाल्पाका अनुसार हालसम्म ३६ सामुदायिक तथा सरकारी जंगलमा डढेलो लागेको छ ।

केही दिनयता दिनहुँ जंगलमा डढेलो लागेको छ । फिल्ड डेमोसहितको वन डढेलो तालिममा सोमबार डिभिजन वन पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको र १६ वटा घर र गोठ जलेको जानकारी गराए ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने तर आगो पूर्णरुपमा ननिभ्दा हावाहुरीले पुनः सल्किने समस्या भएको उनले बताए । ‘वन जंगलामा लाग्ने डढेलो नियन्त्रणमा लिन धेरै समस्या छ,’ उनले भने, ‘हावाहुरीको बेग र सुख्खा मौसमले थप समस्या पारेको छ ।’ जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा धेरै डढेलो लागेको उनले बताए । नियन्त्रणका लागि सुरक्षा निकाय, वन कर्मचारी, स्थानीय बासिन्दा जुट्ने गरेका छन् । तर पहिलो काम बस्ती जोगाउने हुने गरेको उनले बताए ।

सम्बन्धित् समाचार