गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सोमबार बाणगंगा नगरपालिका- ७ वनगाईमा अवस्थित जनचेतना आधारभूत विद्यालयमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैं नगरप्रमुख चक्रपाणी अर्यालले राष्ट्रको अव्यवहारिक निति, नियम तथा प्रक्रियाले विकास निर्माणका काम गर्न समस्या भएको बताए । नगरले यस क्षेत्रका समस्या यथाशिघ्र समाधान गर्न खोजे पनि तर प्रक्रियागत विषय लामो हुँदा जटिलता आएको उनको भनाई छ ।

उनले जनभावना अनुरुप नै प्राथमिकताका आधारमा कामहरु गरिरहेको बताए । उनले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगर लागेको बताए । उनले शिक्षामा गुणस्तरियता कायम गर्दै शैक्षिक उपलब्धिलाई वृद्धि गर्न नगरपालिकाले ल्यापटप वितरणदेखि भौतिक निर्माणका कामलाई प्राथमिकता दिएको बताए ।

उनले बाणगंगावासीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न नगरका ११ वटै आधारभूत स्वास्थ्य केन्द्रसहित पिपरा अस्पताललाई व्यवस्थित बनाउनेदेखि सेवा वृद्धिसम्म विशोष पहल गरिएको बताए । उनले बेलाबेलामा औषधी नभएको भन्ने हल्ला आउने गरेको भन्दै उक्त विषयमा कुनै सत्यता नरहेको दाबी गरे । ठेकेदार पक्षले नदीलाई आवश्यक भन्दा बढी उत्खनन् गर्ने परिपाटीलाई रोक्न नगरपालिकाले निरन्तर अनुगमन गर्दै आएको उनले बताए ।

नगरप्रमुख अर्यालले फोहोरमैला व्यवस्थापनका लागी नगरले अल्पकालीन समाधानको उपाय अवलम्बन गरिरहेको बताए । फोहोरमैला व्यवस्थापनका सवालमा नगरवासीबाट कुनै पनि गुनासो नआएको बताउँदै उनले भने, ‘यो दीर्घकालीन समाधानको उपाय हो भनेर हामीले भनेका छैनौं । अब छिट्टै दिर्घकालीन रुपमै समाधान गर्ने दिशातर्फ अघि बढेका छौं ।’

उनले किसानहरुका लागी मलको अभाव हुनु यहाँको मात्र नभएर देशव्यापी समस्या नै भएको बताए । उनले सुधार गर्नुपर्ने विषय कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए । जहाँ जहिले पनि समस्या, सल्लाह र सुझाव आफुलाई दिन सक्ने उनले स्पष्ट पारे ।

नगरउपप्रमुख रिता कुमारी चौधरीले विगतमा भन्दा तुलनात्मक रुपमा अहिले सडक पुर्वाधार निर्माणको काम तीब्र गतिमा भएको बताईन् ।

उनले प्रदेश र संघ सरकारसम्म नगरमा पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम भएको बताईन् । नगरवासीका समस्या समाधान गरि समृद्ध बाणगंगा, खुशी बाणगंगावासी बनाउने संकल्प साथ नगर अघि बढेको उनले बताईन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरका कामकारबाही, उपलब्धि तथा गतिविधिका बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले वैशाखको अन्तिम सातासम्म ठूला योजनाबाहेक अन्य योजना सम्पन्न हुने चरणमा रहेको बताए । उनले हालसम्म चालु र पुजीगत खर्च ५३ प्रतिशत भन्दा बढी भएको जानकारी दिए । उनले चालु आर्थिक बर्षको हालसम्म ५ करोड २० लाख राजस्व संकलन भएको बताए । नगरले पर्यटन सर्किट निर्माण गरि ति सर्किटहरुमा लगानी गर्ने योजना बनाएको उनले सुनाए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका सहसचिव पिताम्बर घिमिरेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, ११ वटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि, शाखा प्रमुखसहितका कर्मचारी, सरोकारवाला निकाय, संचारकर्मी र नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका उपाध्यक्ष दिपा महतले नागरिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने कार्यसमिति सदस्य बाबुराम रायमाझीले बहिर्र्गमन अभिमत प्रस्तुत गरेका थिए ।

यसैबीच सोही कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले कार्यालयबाट भएका कार्यसम्पादनका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित् समाचार