बाणगंगा ।
बाणगंगा नगरपालिका वडा नं.९ मा रहेको कोटिहवा सामुदायिक वन उपभोक्ता समूहले गरिब र विपन्न परिवारहरूलाई ५० प्रतिशत अनुदानमा १ सय १० थान विद्युतीय चुलो वितरण गरेको छ।
वनको १३ औं वार्षिक साधारणसभाबाट पारित वार्षिक कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा विद्युतिय चुलो वितरण गरिएको हो ।
वनका अध्यक्ष ध्रुव बेल्बासे, वडाध्यक्ष कमल पौडेल लगायतका अतिथिहरुले उक्त विद्युतीय चुलो हस्तान्तरण गरेका थिए ।
सो क्रममा वडा अध्यक्ष कमल पौडेलले विद्युतिय चुलो वितरण कार्यक्रमलाई वातावरणमैत्रीको क्षेत्रमा उदाहरणीय कदम भएको बताए ।
वनको यस कार्यले समुदायमा पर्यावरणको संरक्षणको महत्व बुझाउन मद्दत पुर्याउने उनको विश्वास छ ।
त्यस्तै, बेश संस्था दाङका बजार विकास अधिकृत खेमराज मरासिनीले विद्युतिय चुलोको उपयोग र यसको दीर्घकालीन फाइदाबारे प्रकाश पारे।
वनका अध्यक्ष ध्रुव बेल्बासेले कार्यक्रमको सफलताका लागि आभार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले समुदायमा वातावरणीय सचेतना र विकासका नयाँ आयाम खोल्ने विश्वास व्यक्त गरे। कार्यक्रमको प्रमुख उद्देश्य वातावरणको संरक्षण र स्थानीय परिवारहरूको जीवनस्तरमा सुधार ल्याउनु रहेको उनले बताए ।
वनका उपभोक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै खुशी व्यक्त गरेका थिए ।








