गृहपृष्ठ Featured झरीले हिलाम्मे अवरुद्ध दाउन्ने सडक : साना गाडी एकतर्फी सञ्चालनमा

झरीले हिलाम्मे अवरुद्ध दाउन्ने सडक : साना गाडी एकतर्फी सञ्चालनमा

नवलपरासी पूर्व ।

झरीले हिलाम्मे अवरुद्ध रहेको दाउन्नेमा अहिले ३ बजेदेखि साना गाडी एकतर्फी रूपमा चलेका छन् । बिहान सामान्य झरी पर्दा हिलाम्मे सडकले गर्दा यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालले अहिले ३ बजेदेखि साना गाडी मात्र एकतर्फी पठाइएको जानकारी दिए । हिलाम्मे सडकका कारण ठूला र मालवाहक गाडी चल्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘घाम लागेर हिलो नसुकेसम्म ठूला गाडी चल्न सक्ने अवस्था छैन,’ उनले भने । राजमार्ग फराकिलो पार्ने क्रममा भत्काइएको दाउन्ने सडक खण्डमा २-३ फिटसम्म धुलो छ ।

पानी परेका कारण धुलेसडक हिलाम्मे भएर गाडी चिप्लिने अवस्था रहेको छ । दाउन्नेमा असहज भएका कारण दुम्कीवासदेखि पूर्व र बर्दघाटदेखि पश्चिम क्षेत्रमा सयौं गाडी रोकिएका छन् ।

सडक मर्मतको कामका लागि हरेक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म राजमार्गमा यातायात बन्द गरिएको छ । बन्दका बेलामा राजमार्गमा ग्राभेल र बालुवा हालेर गाडी चल्न सहज हुने गरी काम गराइएको ढकालले जानकारी दिए ।

सम्बन्धित् समाचार